नेपालमा क्यान्सरको उपचार र 'सेकाइ'का डाक्टर

म क्यान्सर रोग र त्यसको उपचारको विषय - 'अँकोलोजी' मा स्नातकोतर गर्दै गरेको डाक्टर बिद्यार्थी हुँ ।
अहिले भरतपुर स्थित वि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छु । 
यहाँ हरेक दिन २०० जना क्यान्सरका बिरामी हाम्रो ओपिडीमा आउनुहुन्छ र झन्डै २५० जना बिरामीको रेडियोथेरापी हुन्छ ।


यो लेखमा मैले क्यान्सर रोग र यसको उपचारको बारेमा केही लेख्ने सोचेको छु।
यो लेख्ने 'आगो' आज भेट भएका सँखुवासभाका बिरामीले लगाईदिएका हुन् ।

क्यान्सर के हो ?
सामान्यतया अनुशासनमा बस्ने शरिरका कोशहरु (cells) एकाएक हतार हतार बढ्न थाल्छन् , बाँडिन थाल्छन् र त्यसले गर्दा शरिरमा समस्या आउँछ । यही क्यान्सर हो ।
क्यान्सरको अर्को नराम्रो बानी एउटा ठाँउबाट अर्को ठाँउमा सर्ने हो । यउटा अँगमा उम्रेको क्यान्सर छेउकै अँग अथवा टाढाको अँगमा फैलियो भने त्यसलाई मेटास्टासिस भएको भनिन्छ । (Metastasis)

 क्यान्सर कुन कुन अँगमा हुन सक्छ ?
क्यान्सर कुनै पनि अँगमा हुन सक्छ । पुरुषहरुमा फोक्सोको क्यान्सर , मुखको क्यान्सर धेरै भेटिन्छन् भने महिलाहरुमा पाठेघरको मुख (cervix) र स्तनको क्यान्सर ।

क्यान्सर किन हुन्छ ?
क्यान्सर किन हुन्छ को उत्तर त्यति सोझो छैन । केही क्यान्सरहरु वँशाणुगत हुन्छन् भने धेरै जसो क्यान्सरको कारण चुरोट र खैनी हो ।
हामीले हेर्ने क्यान्सरका बिरामी मध्य ८० प्रतिशत भन्दा धेरैले चुरोट वा खैनी खाएका हुन्छन् । यो दुई बर्षमा मैले भेटेका,  चुरोट/खैनी नखाएर पनि फोक्सो र मुखको क्यान्सर भएका बिरामीहरुलाई औलामा गन्न सक्छु ।
सोझै भन्नु पर्दा चुरोट वा खैनी प्रयोग गर्ने मान्छेलाई क्यान्सर हुने सँभावना निकै हुन्छ ।

क्यान्सरको उपचार
अपरेसन:
काटेर फ्याल्न मिल्ने छ भने क्यान्सरको अपरेसन गरिन्छ । जहाँ रोग छ, त्यो भाग काटेर हटाउनु नै क्यान्सरको अपरेसन हो । तर धेरै पटक काटेर निकाल्नै नसकिने अवश्थामा क्यान्सर भेटिन्छ । टाउको र घाँटी, रगत वा  अरु निकाल्नै नमिल्ने अँगमा क्यान्सर भएको छ भने पनि अपरेसन सम्भव नहुन सक्छ ।

किमोथेरापी:
क्यान्सरका औषधीलाई किमोथेरापी भनिन्छ । आजकल सयौँ प्रकारका किमोथेरापी बनेका छन् । केही क्यान्सरहरु किमोथेरापीसँग सजिलै निको हुन्छन् भने केहीलाई किमोथेरापीले छुँदैन ।
हरेक किमोथेरापीका आ-आफ्नै राम्रा र नराम्रा असरहरु हुन्छन् ।
सामान्यतया 'कपाल झर्छ' 'वाक्‌वाक् हुन्छ' भनेर सोचिए पनि सबै किमोथेरापीले त्यस्तो गराउँदैनन् ।

रेडियोथेरापी
रेडियोथेरापी भनेको रेडियसनको प्रयोगले क्यान्सरको उपचार गरिने प्रविधिलाई भनिन्छ । नेपालीमा रेडियसनलाई विकिरण भनिन्छ, सामान्य भाषामा भन्नु पर्दा, अलि बढि ताकतका एक्सरे भनेर बुझ्दा पनि हुन्छ ।
रेडियोथेरापी गर्ने बिभिन्न मेसिनहरु हुन्छन् र उपचार केही मिनेट प्रति दिन, हप्तामा ५ दिन गरेर, ६ हप्ता जति हुन्छ ।
खोई किन हो, रेडियोथेरापी लाई हाम्रा बिरामीहरुले 'सेकाई गर्ने' भन्नुहुन्छ। यो शब्द आफैमा गलत छ, किन  भने रेडियोथेरापी गर्दा पोल्दैन, न त दुख्छ, बिरामीले केही थाह पाउनुहुन्न ।
रेडियोथेरापी सुरु गरेको २-४ हप्तामा कसै कसैको छाला अलि कालो हुन सक्छ । अरु प्रतिकुल असर के हुन्छन् भन्ने कुरा रेडियोथेरापी कुन अँगमा गरिदैछ मा भर पर्छ । धेरै जसो बिरामीहरुले रेडियोथेरापी सजिलै लिनुभएको मैले पाएको छु ।

नेपालमा क्यान्सरको उपचार 
 नेपालमा क्यान्सरको अपरेसन धेरै वटा अस्पतालमा हुन्छन् र किमोथेरापी पनि धेरै वटा अस्पतालमा लगाउन मिल्ने भएको छ । क्यान्सरको उपचारमा आजकल निकै प्रगति भएको क्षेत्र रेडियोथेरापी हो ।
नेपालमा नपुग्दो हुने गरि थोरै भएको पनि रेडियोथेरापी नै हो !
रेडियोथेरापी हुने नेपालमा जम्मा ४ वटा अस्पताल छन् । सबै भन्दा पुरानो, बीर अस्पताल हो, त्यस पछि भक्तपुर क्यान्सर अस्पताल । भरतपुर स्थित क्यान्सर अस्पताल र मणिपाल कलेज पोखरामा पनि यो सेवा उपलब्ध छ ।

प्रविधिको कुरा गर्दा,  चितवनको भरतपुर क्यान्सर अस्पताल अगाडी छ, नयाँ प्रविधिहरु भएको र सरकारले पनि राष्ट्रिय क्यान्सर अस्पतालको मान्यता दिएकाले यहाँ सबै क्यान्सरको उपचार हुन्छ ।

भविष्य ?
क्यान्सरको उपचारको क्षेत्रमा हरेक दिन केही न केही नयाँ आइरहेकै हुन्छ । केही दशक अघि पार पाउन नसकिने भनिएको क्यान्सर बेलैमा भेटिए निको हुन थालेको छ ।
बिश्वास के गर्न सकिन्छ भने बर्षहरु बित्दै जाँदा, नयाँ औषधि, नयाँ प्रविधि आउनेछन् जसले गर्दा क्यान्सर पनि सजिलै निको हुने रोग हुनेछ र समाजमा रहेका नकारात्मक कुराहरु कम हुँदै जान्छन् ।

नेपालमा पनि नयाँ क्यान्सर अस्पताल खुल्ने तरखरमा छन् । टिचिँग अस्पतालले धेरै वर्ष भयो कोशिस गरिरहेको । निजामति अस्पतालमा पनि खुल्ने रे भनेको सुनिन थालेको छ ।

यसै बर्ष काठमाडौँमा एउटा निजी क्यान्सर अस्पताल खुल्न लागेको छ र अरु नयाँ पनि खुल्ने सम्भावना छ । यसरी नै नयाँ सेन्टरहरु खुल्न थाले भने नेपालमै सजिलै उपचार सम्भव होला क्यान्सरको ।

अन्त्यमा :
१. रेडियोथेरापी भनेको सेकाई होइन ।
२. जब सम्म हाम्रो देश र हामी क्यान्सरको उपचार सजिलै गर्न सक्ने गरी धनी हुँदैनौ, चुरोट नखाएकै बेस ।

यो लेख यहाँहरुलाई कस्तो लाग्यो, कमेन्ट गर्नुहोला।
मेरो ईमेल ठेगाना abish @ outlook . com हो, यहाँहरुलाई क्यान्सरसँग सम्बन्धित कुनै पनि जिज्ञासा भए लेखेर पठाउनुहोला, मैले जानेको जति उत्तर दिनेछु ।

Comments

Santosh Dhakal said…
ramro lagyo dai ! keep it up !!!
Anonymous said…
:-)
Anonymous said…
Very good writing Abish. Hope to read more from you.
Saseem Poudel said…
written in a very simple language. patient information ko lagi dherai useful cha. keep it up.
hope to read more of your blogs.
Neerav said…
Informative one...
Keep it up...
:)
Bibek Acharya said…
I would like to say something about the last line.smoking causes not only cancer, so its better not to smoke at all. It does not make any difference whether country is rich or poor, smoking is always injurious so NO SMOKING. Further more there is a sharp decline in the number of smokers in developed countries. Nice and simple article. Keep it up Abish.
Govinda Thapa said…
सर ब्लड क्यानसर कसरी हुनछ र यस्को के के लक्क्षणहरु हुन्छन कृपया बताईदिनुसन ।

Popular posts from this blog

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

Wearing Black Bra in Summer Causes Cancer ?

using internet in mero mobile