क्यान्सरका बिरामीलाई ‘मर्न’ घर पठाउनुपर्छ

(उज्यालो अनलाईनमा २०१४-०८-०५ मा छापिएको / http://ujyaaloonline.com/news/35110/Bir-Hospital/ )


वीर शम्सेरलाई केही राम्रो काम गर्नुपर्छ भन्ने सोच आयो । अनि उनले पृथ्वी वीर अस्पताल स्थापना गरे सन् १८८९ मा, पृथ्वी वीर विक्रम शाहदेव र आफ्नो नाम जोडेर ।
१२५ बर्षको इतिहासमा अस्पतालमा धेरै परिवर्तन आए । देशको सबैभन्दा पुरानो अस्पताल चल्दै गयो । अमेरिकनहरूले ओपिडी भवन बनाइदिए, भारत सरकारले विरामी भर्ना गर्ने भवन ।


देशको पहिलो एक्सरे मेसिन आयो, देशको पहिलो सिटीस्क्यान, देशकै पहिलो क्यान्सर उपचार नेपाल भित्रियो त्यहीँ । इतिहास पल्टाउने हो भने वीर अस्पतालमा विदेशबाट जाँच दिन आउँथे डाक्टरहरू - सायद ती स्वर्णिम दिनहरू थिए ।
स्वास्थ्य मन्त्रालयले सरकारी सेवामा रहेका डाक्टरहरूलाई विभिन्न जिल्लाहरूमा खटाउन थालेको पनि धेरै बर्ष भइसकेको थियो । उच्च शिक्षा दिएर विशेषज्ञ बनाउन जरुरी भइसकेको थियो, र त्यसको लागि टिचिङ अस्पताल मात्रले पुग्ने जस्तो देखिएन । सन् २००३ मा राजाको एकल शासनका बेला डा. उपेन्द्र देवकोटा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँले वीर अस्पताललाई नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस बनाउनुभयो, जहाँ विशेषज्ञ स्तरको पढाइ हुने भयो । विभिन्न मेडिकल, सर्जिकल विषयहरूमा MD/MS सुरु गरिए र पछि उच्च विशेषज्ञ स्तरको MCh/DM सुरु गरिए ।
यसरी सुरु गरिएका डिग्रीहरूले फाइदा धेरैले पाउने भए । सरकारी डाक्टरहरूलाई पढाउन भनेर खोलिएका हुनाले सरकारी डाक्टरहरूले उच्च शिक्षा हासिल गर्न पाउने भए । पढिसकेपछि सरकारी सेवामै हुने भएकाले देशका विभिन्न अस्पतालले विशेषज्ञ सेवा पाउने भए । दुई वर्ष सरकारी अस्पतालमा काम गरेपछि उच्च शिक्षा पाउने भएपछि धेरै जना डाक्टरहरू सरकारी सेवामा प्रवेश गरे । मूल रुपमा सम्पुर्ण देशको स्वास्थ्य व्यवस्थामा फाइदा पुग्ने भयो । पहिलो पटक ३० जनाबाट सुरु गरिएको सो डिग्रीमा अहिले करिब १०० जना भर्ना हुन्छन् र पहिलो प्राथमिकता सरकारी डाक्टरहरूले नै पाउछन् र यहाँ पढेर गएका धेरै जसो डाक्टरहरू विभिन्न जिल्लामा सरकारी स्वास्थ्य सेवामा छन् ।
सोंच सही, सुरुको कार्यान्वयन सही, तर समय बित्दै जाँदा समस्याहरू थपिए । अहिले यो सँस्थामा त्यही MD/MS पढिरहेका डाक्टरहरू आन्दोलन गरिरहेका छन् । मागहरू ठूला छैनन् तर कसैले सुनिरहका नै छैनन् ।

................................................

देशमा राजनीतिक उथलपुथल हुन थालेपछि, वीर चोखो रहन सकेन । सरकारी अस्पतालमा सरकार फेरिएपछि नेतृत्व फेरिन थाल्यो । देशको प्रमुख अस्पताल चलाउन पाउने पदमा पुग्नलाई डाक्टरहरू नै राजनीतिक शरणमा पर्न थाले । स्वार्थ मिसियो, जसले बिस्तारै वीरलाई खोक्रो बनाउंदै लग्यो ।
पदाधिकारी फेरिने, आएर केही नगर्ने, गर्न खोजे पनि ‘गुटबन्दी’ र ‘भागबन्डा’का कारण केही राम्रो काम हुन सकेन । अपुग कुरा अनेकन छन् यो अस्पतालमा - पुराना मेसिन बिग्रिंदै गए, नयाँ थपिएनन् । वीर अस्पतालतिर घुम्नुभयो भने बिग्रेर थन्काइएका प्रशस्त सामानहरू देखिन्छन् ।
आजकल अस्पतालको लागि चाहिने आधारभुत मेसिनहरू छैनन् । सरकारी स्वास्थ्य सेवाको प्रमुख अस्पतालमा सिटीस्कान छैन । यो आफैमा लज्जाको विषय हो । धेरै महँगो कुरा पनि हैन, आजकल जिल्ला जिल्लामा प्राइभेट अस्पतालहरूले सिटीस्कानको सेवा दिन्छन् । सायद नियतको कुरा हो, सायद लाचारिपनको कुरा हो र सायद निहित स्वार्थको कुरा हो, न बिग्रेको बनाइयो, न त नयाँ किनियो । अझै पनि वीर अस्पतालमा धेरै जनाको उपचार निशुल्क हुन्छ । ७० प्रतिशत भन्दा बढी बेडहरू निशुल्क हुन् जहाँ बसेको, तिन छाक खाएको र सामान्य जाँचहरू गरेको पैसा बिरामीले तिर्नुपर्दैन । तर सामान्य भन्दा बाहेक कुनै पनि जाँच गर्न पर्‍यो भने अरु अस्पताल पठाउनु पर्ने अवस्था छ - जसको लागि पैसा खर्च हुन्छ ।
सिटीस्कान एउटा उदाहरण मात्र हो । वीर अस्पतालमा सुरु भएका धेरै सेवाहरूको अवस्था नाजुक छ । न त सरकारको ध्यान गयो, न त पदाधिकारीहरूले केही गरेर देखाउन सके । १२ बर्षमा सयौं डाक्टरलाई डिग्री दिइसकेको संस्थाले एक पटक पनि दिक्षान्त समारोह गरेन, आवासीय डाक्टर भनेर भन्छ तर आवास दिएन, महिनौंसम्म पदाधिकारी छैनन् यो सँस्थामा । समस्या अनेकन् छन् ।
म क्यान्सर विभागमा विशेषज्ञताको लागि पढिरहेको विध्यार्थी हुँ । वीर अस्पतालमा क्यान्सरको उपचार सुरु भएको नै दुई दशक नाघिसक्यो - तर जसरी सुरु भएको थियो, त्यसरी नै छ । क्यान्सरको उपचारमा रेडियोथेरापी नभई नहुने प्रविधि हो, त्यही रेडियोथेरापी जुन प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकामा गएर लिनुभयो । हामीसँग भएको रेडियोथेरापी मेसिन निकै पुरानो प्रविधिको र जिर्ण छ तर पनि त्यसैमा हाम्रा विरामीको उपचार गर्दछौं - यसरी गर्दा रोग छुट्ने र प्रतिकुल असर हुने सम्भावना धेरै हुन्छ । तर बाध्यता - बिरामीसँग अन्य क्यान्सर सेन्टरमा जाने पैसा छैन, हामीसँग नयाँ मेसिन छैन । त्यो नयाँ मेसिन (लिनियर एसिलिरेटर) चाहियो भनेर निकै आवाज उठेको छ, सरकारलाई घच्घचाउन लागिपरेका छौं, सायद सुन्छ कि यो पटक भनेर ।


हामीकहाँ उपचार गर्न आइपुग्ने धेरै बिरामी गरिब हुन्छन् - हामीले कति पटक पैसाकै कारणले उपचार अगाडी बढाउन सक्दैनौं । मलाई ग्लानि हुन्छ - हामी केही गर्न सक्दैनौ र मैले नै धेरै पटक निको हुने क्यान्सरका बिरामीलाई पनि 'मर्न' घर पठाएको छु । 
सरकारले आँखा बन्द गरेको छ, नेताहरू विदेश जान्छन् उपचार गराउन । उनीहरू जाउन् - तर त्यति नै पैसा वीरमा लगानी गर्ने हो भने लाखौं गरिब नेपालीले सेवा पाउंथे, हामीले आशिर्वाद पाउनेथियौं !

Comments

Popular posts from this blog

Wearing Black Bra in Summer Causes Cancer ?

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

using internet in mero mobile