क्यान्सरले जितेको बेला


mainphoto
फोटो साभारः गार्डियन
(पहिलोपोष्टमा २०१५ जुन २० मा पोष्ट भएको / http://www.pahilopost.com/content/-5107.html )
मेरी आमाको उमेर ५५, वहाँको उमेर ५६ !

उस्तै हँसिलो मुहार, उस्तै हरेक दुःखमा ठट्टा गर्न खोज्ने बानी !

वहाँलाई मैले पहिलोपटक 'गर्धनको हड्डी भाँचिएर भर्ना भएकी बिरामी' भनेर चिनें करिब ८ महिना अघि।

भाँचिएको गर्धन शल्यक्रिया गरेर जोडियो, बायोप्सी निकालियो - क्यान्सर आयो रिपोर्टमा - अनि म बोलाइएँ।

गर्धनको हड्डीमा मात्र क्यान्सर हुने विरलै हुन्छ, त्यो कतैबाट फैलिएर त्यहाँ पुगेको हो भनेर बुझ्न धेरै समय लागेन। नेपालमा महिलाहरूमा सबै भन्दा बढी देखिने क्यान्सर- पाठेघरको मुख र स्तनको।

वहाँको सबै जाँच गरेर हेर्दा स्तनमा एउटा घाउ भेटियो, अनि काखीमा एउटा गिर्खा। त्यो स्तनको 'डल्लो' वर्षौँ पुरानो, दु:ख नदिने भनेर कसैलाई नभनिएको रहेछ, बढ्दै गएर घाउ भएको - मलाई केही शंका रहेन - त्यो क्यान्सर थियो, जसले उपचार पाएन र आफ्ना हाँगा फैलाउँदै गर्धनको हड्डीसम्म पुग्यो।

मानव सभ्यता जस्तै पुरानो रोग हो क्यान्सर। यो बीचमा धेरै रोग पत्ता लागे, औषधी पत्ता लागे र ती रोगहरू हराए पनि। केही दशक अघि सम्म पनि क्षयरोग लागेका मान्छेहरू 'अब मर्छन्' भनेर पर लगेर राखिन्थे। तर समय फेरियो, क्षयरोग सजिलै पत्ता लाग्छ, सजिलै निको हुन्छ। तर क्यान्सरमा त्यस्तो विकास भएन। न त सजिलै पत्ता लाग्छ, न त उपचार सहज छ। झन् क्यान्सरले आफ्ना हाँगा फैलाइसके पछि त निको हुनु करिब करिब असम्भव नै छ।

मैले क्यान्सरको उपचार सुरु गरेँ, हरेक महिना सुईबाट लगाउनु पर्ने औषधी- किमोथेरापी।

‘करिब ६ महिना उपचार गर्नु पर्छ, रोग नबढोस् भनेर गर्ने हो, निको हुन सक्ने अवस्था छैन’ मैले हरेक भेटमा वहाँको परिवारलाई यही भनें - किन भने सत्य यो भन्दा फरक थिएन। मलाई कति बाँच्नुहुन्छ भनेर सोधियो, म सँग त्यसको जवाफ थिएन! होस् पनि कसरी ? म त डाक्टर हुँ, भगवान हैन, जसले सायद भविष्य लेख्छन्।

प्राय: मानिसहरुले सोच्छन्, डाक्टरहरुमा भावना हुँदैन। तर, डाक्टर भावनात्मक हुनु पर्छ, त्यसले बिरामीसँगको सम्बन्ध र विश्वासलाई बलियो बनाउँछ। पेशामा इमान्दारिता हुँदाहुँदै, कति रोगहरुले निम्त्याउने परिणामका बारेमा थाहा हुँदाहुँदै पनि हामी उपचार नगरी बस्न सक्दैनौं।

निको नहुने रोग पनि निको भइ पो हाल्छ कि भन्ने झिनो आस रहन्छ कतै कतै। उपचारका क्रममा बिरामी र डाक्टरबीचमा एक किसिमको भावनात्मक सम्बन्ध विकास हुन्छ- गहिरोरुपमा। वहाँको उपचार गर्ने क्रममा पनि मेरो वहाँसँग भावनात्मक सम्बन्ध विकास भयो। वहाँको स्वास्थ्यको बारे परिवार जत्तिकै चिन्ता मलाई थियो- भलै म एउटा डाक्टर हुँ र आफ्नो पेशा गर्दै थिएँ।

किमोथेरापी सुरु गरे पछि वहाँको कपाल झर्न थाल्यो, पछि टाउको मुडुलै भयो। किमोथेरापी र अरु औषधीले छालाको रङ फेरिएको जस्तो भयो, अनुहारमा केही सुजन जस्तो। उपचार सुरु भए पछि केही सजिलो पनि भयो - तर त्यो सजिलो क्षणिक रह्यो। मैले हरेक पटक भेट्दा केही कमजोर पाएँ - तर त्यो जोश र मुस्कान कहिल्यै घटेको थिएन।

सधैँ, 'अब मेरो कति वटा किमो बाँकी ? त्यस पछि त मेरो छुट्टी' भन्नुहुन्थ्यो। म सँग त्यही एउटा हतियार थियो - किमोथेरापी - तर अगाडि थियो अजङ्गको रोग - क्यान्सर - जसले वहाँलाई भित्र भित्र कमजोर बनाइसकेको थियो।

सुरु गर्दा ६ वटा दिने भनेर सुरु गरेको भए पनि ५ वटा भन्दा बढी किमोथेरापी गर्न सक्ने गरि वहाँको शरीरमा ताकत देखिएन। त्यस पछि हामीले अब जस्तो पर्छ, त्यस्तै उपचार गर्ने गरी अघि बढेका थियौँ। हामीसँग विकल्प पनि थिएन। म हरेक पटक वहाँको अनुहारमा हेर्थेँ, वहाँको मुस्कान पहिला भेट्दा जस्तो थियो हरेक पटक त्यस्तै हुन्थ्यो, भित्र जति ज्वारभाटा भए पनि देखिने हल्का र मन्द मुस्कान। तर मलाई थाहा थियो- यो मुस्कानले क्यान्सर जित्न सक्दैन। मलाई यो पनि थाहा थियो कि म यो मुस्कानलाई लामो समयसम्म जोगाएर राख्न सक्दिनँ।

अन्तत: भयो त्यही। केही दिन अघि मलाई भेट्न आउँदा मैले त्यो मुस्कान देखिनँ, पहिला मुस्कानमा जुन स्वच्छन्दता थियो त्यहाँ अहिले डर थियो। र,  त्यो सायद मृत्युको डर थियो !

मैले बुझिसकेको थिएँ, हामी सँग धेरै दिन छैन र जति दिन छ, ती दिनहरू वहाँको लागि सहज बनाउनु पर्छ। हामीले दिन सक्ने त्यही थियो, मृत्यु सम्मको सहजता। कस्तो बिडम्बना ! म जसको अनुहारमा आमाको प्रतिबिम्ब देख्थेँ, जसको मुस्कान मेरा लागि उर्जा थियो। त्यो प्रतिबिम्ब, त्यो उर्जालाई म मृत्युशैय्यामा पुर्‍याउन सहजीकरण गरिरहेको थिएँ।

आज बिहान फोन आयो, 'बेड नम्बर १८ को आमा बित्नुभयो' - मैले सोधे, 'सकस भयो कि भएन?'

ड्युटी डाक्टरले 'भएन' भन्नुभयो।

अर्को एउटा फाइल बन्द भयो - परिवारले कसरी सहन गर्ला एउटी आमाको मृत्यु। हाम्रो लागि त फगत एउटा अर्को फाइल बन्द भयो, जसमा रातो धर्को हुन्छ। अनि सँगै मैले एउटा मुस्कान हराएँ, जसले मलाई अनेक पीडाका बाबजुद पनि उर्जा दिन्थ्यो।
***

मैले क्यान्सरका बिरामीहरू मात्र हेर्न थालेको ४ वर्ष भयो र मैले यस्ता अनेकौं कथाहरू भोगेको छु। जबसम्म रोगले थला पार्दैन, हामी रोगसँग लड्न नै चाहँदैनौ ! कारण अनेक होलान् - तर अन्त्य एउटै हुन्छ - निको हुन सक्ने कारणले मृत्यु!

अन्तराष्ट्रिय तथ्याङ्क हेर्ने हो भने स्तन क्यान्सरका बिरामी उपचारको ५ वर्ष भित्र रोगसँग हारेर मृत्यु हुने सम्भावना जम्मा २० प्रतिशत हो। तर नेपालमा यो निकै फरक छ - म सँग आधिकारिक तथ्याङ्क त छैन, तर मेरो बुझाइमा नेपालमा २० प्रतिशत मात्र स्तन क्यान्सरका बिरामी ५ वर्ष भन्दा बढी बाँच्छन्।

कारण केलाउन त्यति सजिलो छैन - हाम्रो सोच, हाम्रो समाज र हाम्रो सरकार सबै दोषी हुन्।  न त हामी अघि सरेर राम्रो स्वास्थ्यको माग गर्छौ, न त सरकारले हाम्रो कुरा सुन्छ !

कुरा त्यहीं आएर अड्किन्छ - नेपालमा क्यान्सरको प्रारम्भिक जाँच अनि स्तरीय उपचारको लागी पहल- कसले गर्ने, किन गर्ने र कसका लागी गर्ने? यसको उत्तर म सँग पनि छैन।

यस्तो लेख्दै गर्दा मैले भर्खर अर्की महिलालाई भर्ना गरेँ - निको हुन सक्ने क्यान्सर - महिनौँ घरमै राखेर अहिले निकै गाह्रो भएर लिएर आउनुभएको रहेछ। मैले सोधेँ - 'किन यति ढिलो गरेर ल्याउनु भएको ?' उत्तर आयो, 'क्यान्सर हो भन्यो, निको हुँदैन होला भनेर घरमै राख्यौँ।’
सायद मैले वहाँलाई पनि बचाउन सक्दिन होला !

Comments

Popular posts from this blog

Wearing Black Bra in Summer Causes Cancer ?

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

using internet in mero mobile