स्मारिका





(लगातार तीनवटा क्यान्सर र मृत्यु बारे व्लग लेखेकाले मान्छेहरूले मलाई हेर्ने नजर नै फरक हुन थाल्यो । त्यसैले यो एउटा कथा -- कसैसँग मेल खाए संयोग मात्र हुनेछ)

‘मलाई के ल्याइदिनुभयो काका ?’ मेरो ५ बर्षे भतिजोले मेरो झोला खोतल्दै थियो । लामो ट्रान्जिट, अनि पट्यार लाग्दो यात्रा - म थाकेको थिएँ ।
हाम्रो घर पूर्व इलाम भए पनि हामी निकै बर्ष देखि यो ठाउँमा बसेको - घरबेटी राम्रा हुन् कि हामी, थाह भएन - तर हामी त्यो घरमा बसेको १५ बर्ष भइसक्यो । काठमाडौँमा राम्रो पढाइ हुन्छ भनेर बा आमाले हामी दुई भाइलाई काठमाडौं लिएर आउनुभएको । यही घरमा बसेर हामीले स्कुल सकायौ, कलेज सकायौँ, दाइले जागीर खान थाल्नुभयो, बिहे गर्नुभयो, भाउजू पनि यहीँ भित्र्याएको, भतिजलाई पनि अस्पतालबाट यहीँ भित्र्याएको ।

----------
स्कुल सकेर कलेज पढ्ने बेला अनेकन् आकाङ्क्षाहरू थिए - म राम्रो पढेर इन्जिनियर बन्छु, पहिँलो टोपी लगाउँछु, बाटो र पुल बनाउँछु - खै किन हो, इन्जिनियरले त्यही गर्छन् जस्तो लाग्थ्यो । कलेजको पहिलो दिन देखि नै राम्रोसँग पढ्छु भनेर भर्ना गरें - तर धेरै जसो विद्यार्थीको जस्तै भयो मेरो कथा । अर्को हप्ताबाट पढ्छु, अर्को महिनाबाट पढ्छु भन्दा भन्दै पहिलो बर्ष सकियो - जेनतेन जाँच दिएँ - पास भएछु । दोस्रो बर्ष त्यस्तै, राम्रो पढ्छु भनेर आफैंलाई आशा देखाउँदैथेँ ।

----------
पहिलो बर्षका विद्यार्थी आए । स्वागत कार्यक्रम गर्ने भनेर पैसा उठाउने एउटा समुह - म अल्लारे समूहमा जोडिन्थेँ - हामी छतमा बसेर तल बगैँचामा टहलिरहेका केटीहरू हेर्दै एक अर्कालाई जिस्क्याउँथ्यौँ । पहेँलो कुर्ता सेतो सुरुवालमा पहेँलै दोपट्टा। उनी बगैँचाका फूलहरू नियालिरहेकी थिइन् । सायद मेरा मात्र आँखा थिएनन् उनलाई पछ्याउने त्यो छतबाट - तर पनि उनी मेरै हुन् जस्तो लाग्यो । सम्झिँदै हाँसो उठ्छ - देखेको एक मिनेट नि भएको थिएन, मन परेर उधुम भइसक्यो । भविष्यमा उनी नै उनी देख्न थालिसकेको थिएँ ।

---------
विद्यार्थी युनियनको सदस्य, मलाई उनको बारेमा पत्ता लगाउन धेरै बेर नै लागेन । नाम स्मारिका पौडेल, घर बानियाँटार, उमेर मेरो भन्दा ९ महिना कम, एसएलसीमा मेरो भन्दा १० प्रतिशत धेरै अँक ल्याएकी ।  स्वागत कार्यक्रममा जोर जबरजस्ती गरेर मैले गीत गाएँ, त्यसपछि उनी आएर पहिलो पटक बोलिन् ‘मलाई हजुरको स्वर मन पर्यो’ ! कुराकानी र भेटघाटका सिलसिला बढ्दै गए । उनी त्यो बेला बिहान कलेज अनि दिउँसो र अबेर साँझ सम्म एउटा रेडियोमा कार्यक्रम चलाउँथिन् । मेरो सानो मोवाइलमा सर्टकट कि थिच्यो कि त्यही स्टेसन बज्ने । हामीले ‘माया’ भन्ने शब्द बोलेनौँ तर सायद त्यो माया नै थियो, त्यो आकर्षण, त्यो मिठास, त्यो सामिप्यता, त्यो जलन । जिन्दगी सँगै बिताउने कल्पनामा हामीले ‘छोरा भए उत्सव, छोरी भए ज्योत्स्ना’ भनेर नि मानिसकेका थियौँ । लाग्थ्यो हामी कहिल्यै छुट्ने नै छैनौँ - जिन्दगी त्यसरी नै बित्नेछ ।
-----------
१२ पढिसके पछि म भित्रको इन्जिनियर मरिसकेको थियो, मेरो पढाइले म इन्जिनियर बन्न सक्छु जस्तो नै लागेन । स्मारिका भने पढाइमा तेज थिइन् , जागिर खाँदै पढाइ पनि सम्हालेकी थिइन् । मलाई चाहिँ बाबा र दाइले पढाइमा ध्यान दिनु भनेर काम गर्न दिनुहुन्नथ्यो । एक दिन पत्रिकामा ‘स्टडी इन लन्डन’ देखेँ, स्मारिका र म कलेज बाहिरको चिया पसलको कुनाको टेबलमा बसेका थियौँ । म जान्छु लन्डन, अर्को बर्ष तिमी पनि आउ है भनेँ । मैले फेरी सपना देख्न थालिसकेको थिएँ, लन्डन जाने, सँगै बस्ने, उतै जिन्दगी बिताउने, स्मारिका र म मात्रै ।

------------
सोचे भन्दा सजिलै बाबाले मान्नुभयो, दाइ बैँकमा काम गर्नुहुन्थ्यो, तेह्र लाख ऋण बोकेर मैले प्लेन चढेँ । छुट्ने बेला स्मारिकाले अँगालो हालेर ‘कुरेर बस है, म छिट्टै आउँछु’ भनेकी थिइन् । म गएँ, नयाँ ठाउँ, नयाँ साथी, नयाँ काम । अनि अहिले जस्तो सजिलै हातहातमा ईन्टरनेट नि थिएन । ईमेल र याहु च्याटमा कुरा त हुन्थ्यो, तर गाह्रो हुन्थ्यो मन भरिको माया हजारौं किलोमिटर परबाट यता पठाउन । कुराहरू पातलिँदै गए । मातेको सुरमा मैले कति पटक के के लेखेर पठाउँथे - पठाइसकेपछि पछुतो लाग्थ्यो, सरी लेखेर फेरी पठाउँथेँ ।
-------------
पहिलो केही महिना त मैले दिन गन्थेँ, १२ को जाँच कहिले हुने भयो भनेर सोधि खोजी गर्थेँ, पछि त्यो पनि गर्न छोडेँ। सम्बन्ध चिसिन थालेको थियो - केही समय नराम्ररी दुखी भएँ - पछि बिर्सिन थालेँ । यस्तै नै चलिरह्यो ।
त्यो बीचमा धेरै केटीहरूसँग धेरै प्रकारका सँगत भयो, तर स्मारिकाले मनमा ल्याउने तरङ कसैले ल्याउन सकेनन् । कहिले काहीँ याद आउँथ्यो, तर क्षणभर मै हराउँथ्यो । ५ बर्ष म बेलायतका विभिन्न शहरमा बरालिएँ- स्मारिका बाहेकको भविष्य कल्पना नै गरिएको थिईन, म भौतारिन थालें । अरु ५ बर्ष यतै बसें भने त यतैको आइडि पाइन्छ, यतै बित्छ जिन्दगी भनेर सोचेको थिएँ, तर बेलायत सरकारले नियमहरू फेर्यो, म त्यहाँ आर्थिक रुपमा टिक्नै नसक्ने भएँ, मैले नेपाल फर्किने निर्णय गरेँ ।
--------------------

‘अब यतै काम खोज्ने, विदेश बसेर पुग्यो’ मेरो साझा जवाफ सबैलाई यही थियो । ५ बर्ष अघि मेरो लागी लिइएको तेह्र लाख ऋणको मैले एक पैसा पनि चुक्ता गरेको थिइन, बाबाले एक टुक्रा जग्गा बेचेर ऋण कटाउनु भएको थियो। अब मैले थप आर्थिक भार नदिएर कसरी जिन्दगी चलाउने भनेर नजिकका टाढाका सबैलाई  ‘काम खोजिदिनु न’ भनिसकेको थिएँ । कता कताबाट एकजना भिनाजुले फोन गरेर, मेरो पसलमा काम गर्छस् ? तैँले सम्हाल्नु पर्छ भन्नुभयो । म सँग नाइ भन्न सक्ने गरि विकल्प थिएनन् । भैँसेपाटी हाइटमा एउटा सानो सपिङ सेन्टर - म सँगै अरु २ जना थिए काम गर्नलाई । मेरो काम काउण्टरमा बस्ने बाहेक सामानहरूको डेलिभरी लिने हुन्थ्यो । बिहान र बेलुका अलि भिड हुन्थ्यो, नत्र दिनभरी खाली नै हुन्थ्यो, म ईन्टरनेटमा जागिर खोज्दै बस्थेँ । जे होस् बिहान ७ देखि साँझ ७ सम्म व्यस्त प्राय थिएँ।

------------------
एउटा साँझको समय, मार्ट अगाडि गाडी रुक्यो, एउटी महिला र बच्चा ओर्लिए, सायद श्रीमान श्रीमती र बच्चा । श्रीमान गाडी मै बसे, श्रीमती र बच्चा हामी तिर आए । स्मारिका ! म एकछिनमै रातो कालो भएँ । मलाई के गर्ने नै थाह भएन । लजाए जस्तो, डराए जस्तो, कस्तो कस्तो भयो । उनी पहिला बोलिन् - ‘कहिले फर्कियौ ?’ मैले भने भर्खर फर्केको ।
‘तिम्री छोरी ?’ मैले सोधेँ - उत्तर आयो, ‘अँ, मेरी छोरी, ३ बर्षकी भई- नाम ज्योत्स्ना’ - यति भनेर उनी सामान भएको तिर गइन छोरीको हात डोर्याउँदै, म टोलाइरहेँ ।
-----------------

Comments

Popular posts from this blog

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

using internet in mero mobile

नेपालमा क्यान्सरको उपचार र 'सेकाइ'का डाक्टर