आयुर्वेदले क्यान्सर निको हुँदैन





हाम्रो शरिरमा करोडौं कोषहरू हुन्छन् । ति आँखाले नदेखिने शुष्म कोषहरू मिलेर हाम्रो शरिर बनेको छ । ति कोषहरूले हाम्रो शरिर बनाउने, घाउ निको पार्ने र हामीमा जिवन भर्ने काम गर्दछन् । ति कोषहरूलाई अझै शुष्म रुपमा हेर्ने हो भने ति भित्र हामीले डिएनए देख्छौं, त्यही डिएनएमा यि कोषहरूको कानुन लेखेको हुन्छ - जिवन दिने, घाउ निको पार्ने र शरिर सम्हालेर राख्ने ।

त्यही डिएनएमा केही खराब परिवर्तन आएपछि शरिरका केही कोषहरू अनियन्त्रित रुपमा बढ्न थाल्छन् - तिनीहरूले पहिला जुन अँगमा उत्पत्ति भए, त्यो अँग बिगार्छन् र रगत वा गिर्खाहरूको माध्यमबाट अन्य अँगहरूमा पुग्छन् र त्यसलाई पनि बिगार्नथाल्छन् ।  यसरी क्यान्सरले अँगहरू बिगार्न अघि उपचार गर्न सकियो भने यो रोग नियन्त्रणमा राख्न र निको पार्न सकिन्छ तर बिग्रिएका ति अँगहरू जब जिबन चलाउन नसक्ने हुन्छन्, क्यान्सरको कारणले बिरामीको मृत्यू हुन्छ ।

क्यान्सरको स्टेजहरू पनि त्यसरी नै निर्धारण गरिएको हुन्छ । जुन अँगमा उम्रियो त्यहीँ छ र सानो छ भने स्टेज-१ भनिन्छ; अलि ठूलो हुन थाले पछि स्टेज-२ अनि गिर्खाहरूमा पुगिसक्दा स्टेज-३ भनिन्छ भने अरु अँगमा सरिसकेको क्यान्सरलाई स्टेज-४ भनिन्छ ।  जति जति स्टेज माथि चढ्दै जान्छ, त्यति त्यति रोग निको हुने सम्भावना घट्दै जान्छ । क्यान्सर पहिलो स्टेजबाट दोस्रो अनि तेस्रो र चौथोमा पुग्न धेरै समय लगाउँदैन, त्यसैले समयमै यसको उपचार गर्न निकै महत्वपूर्ण हुन्छ ।

क्यान्सरको वैज्ञानिक तथ्यहरूले प्रमाणित गरेको उपचार किमोथेरापी (क्यान्सरका विभिन्न औषधिहरू दिने प्रकृया), रेडियोथेरापी (विकिरणले ‘सेक्ने’) र सल्यक्रिया (चिरेर झिकेर फ्याल्ने) हुन् । यि सबै वा कुनै एक वा दुई उपचार हरेक क्यान्सरलाई जरुरी हुन्छ। हो, क्यान्सरको उपचार जटिल छ - तर उपचार 
सम्भव छ । 
हामीले हेर्ने बिरामीहरू मध्ये कतिपय बिरामीहरू रोग पत्ता लाग्दा स्टेज १ वा २ मा भए पनि उपचार गराउन ढिलो हुँदा स्टेज-३ वा ४ मा आइपुग्नुहुन्छ। त्यसको कारण अहिलेको समयमा बढ्दै गएको ‘बिना साइड-इफेक्ट आयुर्वेदिक उपचार’ क्लिनकहरू भएका छन् । बिना अध्यनन, बिना डिग्री खोल्न र प्रचार गर्न पाइने यस्ता क्लिनिकहरूमा बिरामीहरू जाने र त्यहाँको उपचार र ‘केही हप्ता पछि असर देखिन्छ’ भनेर कुर्दा कुर्दै रोग निकै बढिसकेको हुन्छ । 

निको हुन सक्ने अवस्थाको क्यान्सर भएका बिरामीलाई ‘अब निको नहोला कि’ भन्न मलाई निकै छटपटी हुन्छ। हो, हामीकहाँ आएका सबै क्यान्सरका बिरामीलाई हामी निको पार्न त सक्दैनौं तर विज्ञानले प्रमाणित गरेको उपचार गरेर हामीले धेरै बिरामीहरूमा जिवन थपेका छौं । 

हुन त क्यान्सरको उपचारमा प्रयोग हुने प्रमाणित औषधिहरू पनि केही जडिबुटीबाट, केही केमिकलहरूबाट बनेका हुन् तर जडिबुटी खाएर अहिले सम्म कसैको क्यान्सर निको भएको छैन । जडिबुटी र थाहै नभएका पदार्थहरूमा हजारौँ खर्च गरेर धेरै जना बिरामीहरू ठगिनुभएको छ । 
घरेलु इलाज भनेर हजारौं रुपैया र महत्वपूर्ण समय खर्च गरेर
निको हुने रोग पनि निको नहुने भएका धेरै भेटिनुहुन्छ

 क्यान्सर जो कसैलाई पनि लाग्न सक्छ । लागेको थाह हुनासाथ पहिला अस्पताल गएर सबै जानकारी लिन जरुरी छ । आजकल औषधिहरू निकै राम्रा बन्न थालेका छन्, अपरेसन निकै जटिल पनि सहजै हुन थालेका छन् र रेडियोथेरापी गर्ने मेसिनहरू पनि नयाँ र सटिक भएका छन् । विकसित देशहरूमा उपलव्ध हुने सबै उपचार नेपालमै उपलव्ध भएका बेला प्रमाणित नै नभएका उपचारहरूमा समय खेर फ्याल्दा रोग निको हुने बाट नहुने हुन सक्छ ।

रेडियोमा पटक पटक सुनिने ‘बिना साइड-ईफेक्ट, बिना अपरेसन’ सबै रोगहरूको उपचार गर्छौं भनेर प्रचार बजाउन नपाइने हो भने पनि धेरै जना क्यान्सरका बिरामीहरू यसरी हजारौँ खर्च गर्नबाट र जिबन समय अघि नै सकाउनबाट बच्नुहुनेथियो । 

आयुर्वेद पढेका मेरा साथीसँग मैले कुरा गर्दा उनले प्रष्ट भनेका छन्, ‘आयुर्वेदले क्यान्सर निको हुँदैन, हाम्रा किताबहरूमा क्यान्सरको उपचारबारेे केही छैन।’ उनका अनुसार अहिले क्यान्सर निको पार्छु भन्ने आयुर्वेदिक ‘डाक्टर’ ठग हुन् । 

Comments

Popular posts from this blog

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

नेपालमा क्यान्सरको उपचार र 'सेकाइ'का डाक्टर

using internet in mero mobile